Express Nepal — नेपालको अग्रणी समाचार पोर्टल | ताजा, तथ्यपूर्ण र विश्वसनीय समाचार Logo
Express Nepal Logo

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

Express Nepal
📰
KTM Post

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछन्।

प्रधानमन्त्री शाहसहितको नेपाली टोली मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको उडानमार्फत न्युयोर्क जाने कार्यक्रम रहेको छ। उनको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनालसहित प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, प्रमुख स्वकीय सचिव, निजी सचिव तथा अन्य सरकारी अधिकारीहरू सहभागी छन्।

संयुक्त राष्ट्रसंघको महासभा नेपालका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष राष्ट्रिय प्राथमिकता र समसामयिक विषय प्रस्तुत गर्ने महत्वपूर्ण मञ्चका रूपमा रहनेछ। प्रधानमन्त्री शाहले आगामी सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्रीको सम्बोधनमा नेपालले सामना गरिरहेका प्राकृतिक विपद्, जलवायु परिवर्तनका प्रभाव तथा हिमाली मुलुकका चुनौतीजस्ता विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालमा बाढी तथा अन्य विपद्का कारण भएको क्षति र त्यसबाट प्रभावित समुदायको अवस्थाबारे अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराउने अवसरका रूपमा पनि यस भ्रमणलाई हेरिएको छ।

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्य तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालका प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ।

यसैबीच, परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली यसअघि नै न्युयोर्क पुगिसकेको छ। खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउने र विभिन्न देशका समकक्षी तथा उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यसपटक प्रधानमन्त्री शाहको नेतृत्वमा महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना सदस्य रहने बताइएको छ। प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमणसमेत हो। न्युयोर्कमा हुने उच्चस्तरीय भेटघाट र महासभाको सम्बोधनमार्फत नेपालले आफ्ना राष्ट्रिय चासो तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयहरू प्रस्तुत गर्ने अवसर पाउनेछ। प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री शाह, यसपटक विमानस्थलमा औपचारिक बिदाइ नहुने 1

अमेरिका भ्रमणमा जाँदै प्रधानमन्त्री शाह, यसपटक विमानस्थलमा औपचारिक बिदाइ नहुने

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्रीको यो पहिलो...

दसैँ–तिहार नजिकिँदै जाँदा चङ्गा पसलमा बढ्यो चहलपहल 1

दसैँ–तिहार नजिकिँदै जाँदा चङ्गा पसलमा बढ्यो चहलपहल

काठमाडौं । दसैँ–तिहार नजिकिँदै गएसँगै काठमाडौं उपत्यकाका बजारमा चाडपर्वको रौनक देखिन थालेको छ। खाद्यान्न, कपडा तथा अन्य उपभोग्य सामग्रीसँगै दसैँको...

दमौली–भरतपुर २२० केभी प्रसारणलाइनमा रुख कटानको स्वीकृति, निर्माणले थप गति लिने अपेक्षा 1

दमौली–भरतपुर २२० केभी प्रसारणलाइनमा रुख कटानको स्वीकृति, निर्माणले थप गति लिने अपेक्षा

तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारणलाइनका लागि तनहुँतर्फ पर्ने सबै सामुदायिक वनमा रुख कटान गर्न आवश्यक...

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, संक्रमण बढेपछि स्वास्थ्य सतर्कता 1

झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सुरु, संक्रमण बढेपछि स्वास्थ्य सतर्कता

झापामा जापानिज इन्सेफलाइटिस को संक्रमण बढ्दै गएपछि रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिएको छ। वर्षायामसँगै लामखुट्टेको सक्रियता बढ्ने र त्यसबाट...