गाडीबाट झरेकी आमा–छोरीलाई अर्को गाडीले ठक्कर दिँदा दुवैको मृत्यु
रुकुम पश्चिममा भएको दर्दनाक सवारी दुर्घटनामा आमा–छोरीको ज्यान गएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा यात्रुबाहक गाडीबाट ओर्लिएका आमा–छोरीलाई अर्को गाडीले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्चाकाकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञावली रुकुम पश्चिमबाट सुर्खेतस्थित घरतर्फ जाँदै थिए। उनीहरू क.प्र.०२–००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा सवार थिए। यात्राका क्रममा छोरीले शौच गर्नुपर्ने बताएपछि स्वस्तिकाले गाडी रोक्न लगाएकी थिइन्। त्यसपछि उनी छोरीलाई लिएर सडकमा झरेकी थिइन्।
सोही क्रममा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज १४८२ नम्बरको अर्को गाडीले सडकमा रहेकी आमा–छोरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई तत्काल उद्धार गरी सानीभेरी गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो। तर चिकित्सकले बिहान साढे ९ बजेतिर दुवैलाई मृत घोषणा गरेका थिए।
ठक्कर दिने गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
स्वस्तिका आफ्ना श्रीमान् घनश्याम ज्ञावलीलाई भेट्न छोरीसहित रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा पुगेकी थिइन्। उनी सनराइज बैंकमा कार्यरत श्रीमान्लाई भेटेर छोरीसहित गुल्मीस्थित घर फर्किने क्रममा थिइन्। तर घर पुग्नुअघि नै भएको दुर्घटनाले आमा–छोरी दुवैको ज्यान लिएको छ।
घटनाले सडकमा यात्रुहरू गाडीबाट ओर्लिँदा र सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा चालकहरूले सवारी चलाउँदा देखाउनुपर्ने सतर्कताको महत्त्वलाई पुनः उजागर गरेको छ।
सम्बन्धित समाचार
पूर्वराजा ज्ञानेन्द्रसँग धवल शम्शेरको भेट, के भयो छलफल?
जय नेपाल पार्टीका सभापति धवल शम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग काठमाडौंस्थित सोल्टी होटलमा करिब दुई घन्टा लामो भेटवार्ता गरेका छन्। हिमानी...
राज्यमा विभेद किन कायम छ? समावेशितामाथि गम्भीर प्रश्न
राज्यका सबै नागरिकलाई समान अवसर, अधिकार र सम्मान प्राप्त हुनुपर्ने मान्यता लोकतान्त्रिक व्यवस्थाको आधार हो। संविधान, कानुन र राज्यका संस्थाहरूले...
कांग्रेस महाधिवेशनबारे उपसभापति शर्माको स्पष्ट अडान, मङ्सिरपछि सार्न नमिल्ने दाबी
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन मङ्सिरपछि सार्न संवैधानिक तथा कानुनी आधार नरहेको बताएका छन्। उनले कांग्रेसको...
आजको मौसम : तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं, ७ भदौ २०८३ । देशमा मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। मौसममा आंशिकदेखि सामान्य बदली रहने र...




